काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
नयाँ दिल्लीमा बुधबार हुने यस उच्चस्तरीय भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, आपसी हितका विविध विषय तथा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आयामहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।
लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल यतिबेला राजनीतिक भेटघाट र संवादका लागि भारत भ्रमणमा रहेको छ। यसै क्रममा मंगलबार सभापति लामिछानेले भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का नेता नीतिन नवीनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिसकेका छन् ।
ती भेटहरूमा पनि दुई देशबीचको राजनीतिक तथा सामाजिक सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताइएको छ ।
रास्वपाको यो राजनीतिक टोली आगामी जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ । भ्रमणका बाँकी दिनहरूमा पनि टोलीले भारतका विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, कूटनीतिज्ञ तथा सरकारी अधिकारीहरूसँगको भेटघाट र महत्वपूर्ण छलफललाई निरन्तरता दिने कार्यतालिका रहेको छ ।