काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेटवार्ता गरेको छ। उनीहरूबीच नयाँ दिल्लीमा आज भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल-भारतबीचको आपसी हित, दुई देशबीचको सुरक्षा चासो तथा सीमा क्षेत्रमा सर्वसाधारणले भोग्दै आएका समस्या र त्यसको समाधानका उपायबारे छलफल भएको बुझिएको छ।
यसअघि सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भारतीय नेतृत्वसँग शृङ्खलाबद्ध भेटघाट गर्दै रास्वपा प्रतिनिधिमण्डलले द्विपक्षीय सम्बन्ध र विकास साझेदारीका विविध आयाममा छलफल गरिरहेको छ।