नयाँ दिल्ली । नेपाल र भारतबीचको कूटनीतिक तथा सीमा मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहेको भारतले स्पष्ट पारेको छ। दुई देशबीच विद्यमान सीमा सम्बन्धी सम्पूर्ण विषयहरूलाई सम्बोधन गर्न आफ्नै द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको भारतको भनाइ छ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सीमा विवादबारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।
चीन र बेलायतलाई जोड्ने प्रधानमन्त्री बालेनको प्रस्तावमा भारतको जवाफ
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्या समाधानका लागि बेलायत र चीनलाई समेत छलफलमा संलग्न गराउनुपर्ने सुझाव दिएको सन्दर्भमा प्रवक्ता जयसवालले दुई देशबीचको मामिलामा अन्य मुलुकको संलग्नता आवश्यक नरहेको स्पष्ट पारे।
"हामीले भारत–नेपाल सीमा सम्बन्धी नेपालका प्रधानमन्त्रीको टिप्पणी र यस विषयमा नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरण वक्तव्य हेरेका छौँ," प्रवक्ता जयसवालले भने, "सबै पक्षलाई यो स्पष्ट हुनुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका छैन। हामी आफ्ना सीमा समस्याहरू वार्ता र स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गर्न प्रतिबद्ध छौँ।"
९८ प्रतिशत सीमाङ्कन सम्पन्न, दसगजा अतिक्रमणको संयुक्त नक्साङ्कन हुँदै
प्रवक्ता जयसवालका अनुसार भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमाङ्कन भइसकेको छ। तर, प्राकृतिक कारण र नदीको बहाव परिवर्तनका कारण केही खण्डहरू अझै सुल्झिन बाँकी छन्।
"गण्डक नदीले धार परिवर्तन (स्थानान्तरण) गरेका कारण केही प्राविधिक समस्याहरू देखिएका हुन्," उनले थपे, "यसबाहेक सीमाङ्कन भइसकेका केही क्षेत्र तथा 'नो मेन्स ल्याण्ड' (दसगजा) मा सीमापार कब्जा र अतिक्रमणका घटनाहरू पहिचान भएका छन्। यसलाई अहिले दुवै देशका अधिकारीहरूले संयुक्त रूपमा नक्साङ्कन र प्रमाणीकरण गरिरहेका छन्।"
प्रधानमन्त्री बालेनको 'अतिक्रमण' सम्बन्धी टिप्पणीको देशभित्रै आलोचना
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा "नेपालले पनि भारतीय भूभाग अतिक्रमण गरेको हुनसक्ने" भनी दिएको विवादास्पद अभिव्यक्तिको नेपालका राजनीतिक दलहरूले तीव्र आलोचना गरिरहेका छन्। चौतर्फी विरोध र कूटनीतिक दबाब बढेपछि नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उक्त टिप्पणीमाथि स्पष्टीकरण समेत जारी गर्नुपरेको थियो।