काठमाडौं। यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा-२ बक्सअफिस’ ले सार्वजनिक गरेको नवीनतम तथ्यांकअनुसार गत जेठ १६ गते शनिबारसम्म यस चलचित्रले घरेलु बजारबाट सात करोड ९० लाख ३१ हजार ४७६ (करिब आठ करोड) कमाउन सफल भएको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रका लागि सोही अवधिमा कुल एक लाख ९६ हजार ४०६ थान टिकट बिक्री भएका छन्। चलचित्रले पाएको सुखद व्यापारिक सफलताले निर्माण टिम निकै उत्साहित बनेको छ।
मनोरञ्जनसँगै शिक्षाको महत्त्व र सामाजिक दायित्वलाई दुरुस्त रूपमा पर्दामा उतारिएकाले दर्शकले यसलाई मुक्तकण्ठले तारिफ गरेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए। प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रमा बानियाँका साथै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदी लगायतको जीवन्त अभिनय छ।
यसैगरी वैशाख महिनामा प्रदर्शन भएका अन्य चलचित्रहरूमा लक्ष्मण सुनारको निर्देशन र सुशील पोखरेलको निर्माणमा बनेको ‘परालको आगो’ दोस्रो स्थानमा देखिएको छ। वैशाख ११ गतेदेखि प्रदर्शन भएको यस चलचित्रले रु चार करोड २७ लाख ८४ हजार ४४५ को व्यवसाय गर्दै कुल एक लाख ५४ हजार ३४ टिकट बेच्न सफल भएको छ।
चलचित्रमा प्रकाश सपुत, सुहाना थापा र सौगात मल्ल मुख्य भूमिकामा छन्। यस्तै, वैशाख २५ मै रिलिज भएको गायक रामकृष्ण ढकाल निर्मित चलचित्र ‘मालती मङ्गले’ भने बक्सअफिसमा कमजोर देखिएको छ।
वर्षा राउत र विजय बराल अभिनीत यस चलचित्रले १६ हजार १८८ टिकट बिक्री गर्दै मात्र ५१ लाख ७३ हजार ७९३ कमाउन सक्यो। सोही मितिमा हलमा आएको प्रेम सोनी सुनार निर्देशित तथा मिथिला शर्मा र गौरी मल्ल अभिनीत ‘गुरु आमा’ को अवस्था पनि निराशाजनक रह्यो। यसले ९ हजार ३२७ टिकट खर्चिंदै रु २९ लाख ४२ हजार ५७६ मात्र संकलन गरेको छ।
जेठ महिनामा प्रदर्शन सुरु गरेका चलचित्रहरूको व्यापारिक अवस्था पनि उत्साहप्रद देखिँदैन। जेठ १ गतेदेखि प्रदर्शनमा आएको सहारा शर्मा निर्देशित ‘एक मुठ्ठी बादल’ ले निकै कमजोर सुरुवात गर्दै मात्र १ हजार ५०५ टिकटका साथ रु पाँच लाख २१ हजार ८२५ को व्यापार गरेको छ।
सोही दिन रिलिज भएको सुरक्षा पन्त अभिनीत फेन्टासी कमेडी ड्रामा ‘लाइफ ड्यामेज’ ले भने केही राहत पाउँदै १० हजार ८५५ टिकट बिक्री गरेर रु ३३ लाख २६ हजार ३२० कमाएको छ। यसैगरी जेठ ८ गते एकसाथ मैदानमा उत्रिएका दुई ठूला चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले पनि पहिलो साता दर्शकको बलियो साथ पाउन सकेनन्।
विपिन कार्की र केकी अधिकारी अभिनीत ग्रामीण प्रेमकथामा आधारित चलचित्र ‘काजी’ ले पहिलो साता १३ हजार ७ वटा टिकट बेच्दै रु ४० लाख ८८ हजार १७५ को व्यापार गरेको छ। अर्कोतर्फ, सौगात मल्ल र दयाहाङ राई स्टारर तथा अनिल बुढा मगर निर्देशित चलचित्र ‘मितज्यू’ ले भने केही राम्रो प्रदर्शन गर्दै ४१ हजार २४८ टिकटको मद्दतले एक करोड २० लाख ५९ हजार ८२ को व्यापारिक आँकडा पार गरेको छ।
चलचित्र विकास बोर्डले हरेक सोमबार बक्सअफिसको आधिकारिक विवरण सार्वजनिक गर्ने नियमअनुसार जेठ मध्यसम्मको यो नतिजा बाहिर आएको हो।