हर्क साम्पाङको प्रश्न: म संसदमा नहुँदा मेरा पार्टीका सांसदलाई कुट्न खोज्ने को हो?

हर्क साम्पाङको प्रश्न: म संसदमा नहुँदा मेरा पार्टीका सांसदलाई कुट्न खोज्ने को हो?

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह बालेनले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसको पुष्टि गर्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपालले भारतको भूमि मिचेको भन्ने दाबी तथ्यसहित प्रमाणित गर्न आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीको जिम्मेवारी देशको सीमा र राष्ट्रिय हितको रक्षा गर्नु भएको उल्लेख गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति आएको बताए । ‘प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्नुभएको हो भने कहाँ र कति भूभाग मिचिएको हो, त्यसको स्पष्ट पुष्टि गर्नुपर्छ,’ अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सीमा विवादजस्तो संवेदनशील विषयमा राष्ट्रको नेतृत्वमा रहेका व्यक्तिबाट आउने अभिव्यक्ति जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । प्रधानमन्त्रीको उक्त भनाइले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा अन्योल सिर्जना गरेको भन्दै उहाँले त्यसबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन् ।

अध्यक्ष साम्पाङले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने विषयमा सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताउँदै सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट अडान लिनुपर्ने र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका बेला अध्यक्ष साम्पाङको याे टिप्पणी सार्वजनिक भएको हो। उनले प्रधानमन्त्रीको भनाइलाई ‘इतिहासकै कलंकपूर्ण अभिव्यक्ति’को संज्ञा दिँदै त्यसबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

त्यस्तै, आइतबार संसदमा भएको सत्ता पक्ष र विपक्षीको धकेलाधकेलबारे प्रश्न उठाउँदै उनले आफू संसदमा नभएको बेला आफ्नो पार्टीका सांसदलाई कुट्न खोज्ने को हो? भन्दै प्रश्न गरेका छन् ।

छुटाउनुभयो कि ?