काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नबिनको निमन्त्रणामा उनी जेठ १८ देखि जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने छन्।
सत्तारूढ रास्वपाको विज्ञप्ति जारी हुनु केही समयअघि मात्र भाजपाले पनि यो भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार यो भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच ‘पार्टी-टू-पार्टी’ सहकार्य सुरु गर्नु रहेको छ।
भ्रमणका क्रममा दुवै दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान हुने अपेक्षा भाजपाले राखेको छ। भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित भाजपाका अन्य वरिष्ठ नेताहरूसँग रचनात्मक संवाद गर्ने कार्यक्रम रहेको छ।
रास्वपा र भाजपा दुवैको औपचारिक विज्ञप्तिमा उल्लेख नभए पनि सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकर लगायतका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने स्रोतले बताएको छ।
स्रोतका अनुसार उनीहरूसँगको भेटको समय भने अझै निश्चित भइसकेको छैन। यसअघि गत फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दोहोरो अंकसहित दुई-तिहाइ नजिकको बहुमत प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई फोन गरेर बधाई दिने क्रममै भारत भ्रमणको वातावरण बनेको स्रोतको दाबी छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणको टुंगो नलाग्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला सत्तारूढ रास्वपाको यो भ्रमणलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।
भ्रमण दलको उच्चस्तरीय भेटघाट र कूटनीतिक संवादलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले समेत समन्वयात्मक रूपमा सहयोग गरिरहेको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो उच्चस्तरीय भ्रमण दलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पाैडेल, पार्टीका सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य बिपिन आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुनेछन्।
नयाँ दिल्लीमा हुने उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटका अलावा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने र उत्तर प्रदेशको अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने तालिका रहेको छ।