एमालेको ‘पार्टी जागरण अभियान’ सुरु, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी

एमालेको ‘पार्टी जागरण अभियान’ सुरु, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सुरु गरेको घोषणा गरेको छ । यो अभियानलाई प्रभावकारी र सफल बनाउन पार्टीले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित विशेष जिम्मेवारी सुम्पेको छ ।

गत जेठ ४ गते सुरु भई ८, ९ र १० गते सम्पन्न भएको केन्द्रीय सचिवालय बैठकका निर्णयहरूलाई मातहतका कमिटीहरूमा प्रेषित गर्ने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका दिन ‘अन्तर पार्टी निर्देशन (अपानि)–२’ जारी गर्दै यो अभियानको घोषणा गरेका हुन् । उक्त अपानिमा नेताहरूको कार्यविभाजन र जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ ।

निर्वाचनपछि केही सुस्ताएका पार्टी कमिटी र गतिविधिहरूलाई यो अभियानमार्फत पुनः गति दिने एमालेको अपेक्षा छ । पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुखको जिम्मेवारी तोकिए पनि उनीहरूलाई अनिवार्य रूपमा आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ । खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा जागरण अभियान सञ्चालन गर्न उनीहरूलाई भूगोलमा केन्द्रित गर्न खोजिएको हो ।

केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानका लागि अपर्याप्त हुने भएकाले केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्ताहरूलाई समेत यो जिम्मेवारीमा खटाइएको छ । जिल्ला इन्चार्ज तोकिएका नेताहरूलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइनेछ भने अन्य केन्द्रीय सदस्यहरूलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिएर जागरण अभियानमा केन्द्रित हुन निर्देशन दिइएको छ ।

एमालेको नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले समग्र कामको नेतृत्व र महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभिन्न विभाग तथा फाँटहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । पार्टीका नौ जना सचिवहरूमध्ये ६ जनालाई प्रदेश इन्चार्ज र ३ जनालाई महत्वपूर्ण विभागको प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।

जसअनुसार कोशीका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ । अन्य सचिवहरूमा छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, खगराज अधिकारीलाई गण्डकी प्रदेश, यमलाल कँडेललाई कर्णाली प्रदेश, शेरधन राईलाई कोशी प्रदेश, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश र महेश बस्नेतलाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ ।

यसैगरी पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ । यो बृहत् कार्यविभाजन र जागरण अभियानमार्फत एमालेले आगामी निर्वाचनको तयारीलाई तल्लो तहदेखि नै बलियो बनाउने रणनीति लिएको देखिन्छ ।

छुटाउनुभयो कि ?