काठमाडौं। सरकारले मुलुकलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आज आव २०८३÷८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने उल्लेख गरे।
“हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ, स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु”, उनले भने।
नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बौद्धिकताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने उहाँले विश्वास व्यक्त गरे।
एआईको क्षेत्रमा अन्तरराष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसीप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रण गर्ने सरकारको योजना छ । त्यस्तै एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणितलगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिने उनले बताए।