काठमाडौं। सरकारले आगामी ५ वर्षभित्र मुलुकका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्याउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमार्फत सरकारले आम नागरिकको मौलिक हकका रूपमा रहेको स्वच्छ र सुरक्षित खानेपानीमा पहुँच पुर्याउने रणनीतिक योजना अघि सारेको हो।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खानेपानी क्षेत्रको पूर्वाधार विकास र गुणस्तर सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। हालसम्म पनि केही क्षेत्रका नागरिक सुरक्षित खानेपानीको पहुँचबाट टाढा रहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले ५ वर्षे गुरुयोजना सहित बजेट विनियोजन गरेको हो।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले निर्माणाधीन खानेपानी आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाइने, जलवायु अनुकूलित खानेपानी प्रणालीको विकास गरिने र पानीका मुहान संरक्षणका विशेष कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरे।
शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी पुर्याउने यस लक्ष्यले दिगो विकास लक्ष्य (SDG) प्राप्त गर्न र आम जनताको स्वास्थ्य गुरुत्व सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।