काठमाडाैं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रशासनिक चुस्तता, औद्योगिकीकरण र आधुनिक प्रविधिको विकासलाई केन्द्रमा राख्दै आक्रामक सुधारसहितको बजेट सार्वजनिक गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको परम्परागत गति र लय फेर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार घट्यो, विदेशमा लगानी सहज गरिने
औद्योगिक उत्पादन बढाउन र स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन सरकारले भन्सार महसुलमा रणनीतिक परिवर्तन गरेको छ । अर्थमन्त्री वाग्लेका अनुसार औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने ग्यारेन्टी गर्दै २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको छ । यसले स्वदेशी उद्योगको लागत घटाई उत्पादनशीलता बढाउने विश्वास गरिएको छ ।
यसैगरी, आर्थिक क्षेत्रमा अर्को महत्त्वपूर्ण घोषणा गर्दै सरकारले नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्थालाई सहजीकरण गर्ने नीति लिएको छ ।
एआईका लागि ‘मातृभूमि कोष’ र ३ महिनाको इन्धन भण्डारण
आधुनिक प्रविधिको विकास र डिजिटल रूपान्तरणका लागि सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को क्षेत्रमा लगानी बढाउने भएको छ । यसका लागि विशेष रूपमा ‘मातृभूमि कोष’ स्थापना गर्ने बजेटमा उल्लेख छ ।
त्यस्तै, ऊर्जा सुरक्षा र आपतकालीन व्यवस्थापनलाई सुदृढ बनाउन मुलुकभित्रै कम्तीमा तीन महिनाका लागि पुग्ने गरी इन्धन भण्डारणको क्षमता विस्तार तथा भण्डारण गरिने घोषणा सरकारले गरेको छ ।