नयाँ राजनीतिक संस्कारका लागि दुई पार्टीको एकता, त्रिपुरेश्वरको 'उज्यालो घर' मा भयो सहमति

नयाँ राजनीतिक संस्कारका लागि दुई पार्टीको एकता, त्रिपुरेश्वरको 'उज्यालो घर' मा भयो सहमति

काठमाडौं। वैकल्पिक राजनीतिक संस्कार र सामाजिक न्यायको मुद्दालाई अघि बढाउने उद्देश्यका साथ उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ।

त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’ मा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीका तर्फबाट समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

उक्त समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम periyar ले हस्ताक्षर गरेसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको घोषणा गरिएको छ।

दुवै पक्षबीच भएको सहमतिमा देशमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

एकीकरणको यस दस्तावेजमा दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिको मूलधारमा स्थापित गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।

यसका साथै नयाँ पुस्ताको भावना र 'जेनजी (Gen-Z) आन्दोलन' को मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार एवं कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने र राजनीतिक परिवर्तनका क्रममा घाइते भएकाहरू तथा शहीद परिवारका पुराना मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

विशेष गरी दलित समुदायमाथि हुँदै आएको जातीय छुवाछूत, विभेद र वञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक रूपमै दह्रो पहल कद्मी लिने सहमति दुवै दलबीच भएको छ।

यसै गरी राज्य सत्ता तथा पार्टी सङ्गठनका हरेक तहमा जनसङ्ख्याको अनुपातका आधारमा दलित समुदायसहित विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिज्ञा गरिएको छ।

सहमति अनुसार हाम्रो पार्टी नेपालका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई उज्यालो नेपाल पार्टीको सङ्गठनभित्र उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गरिने व्यवस्था समेत मिलाइएको छ।

पार्टी एकीकरणका सन्दर्भमा उज्यालो नेपाल पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा यस कदमलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको एउटा महत्त्वपूर्ण खुड्किलोका रूपमा व्याख्या गरिएको छ।

समायोजनले देशमा समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गर्दै विज्ञप्तिमा आगामी दिनमा समाजका सबै पक्षको सहयोग र सक्रिय सहभागिता जुटाउँदै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ तीव्र गतिमा अगाडि बढाउने अठोट व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?