काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा काठमाडौँमा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ । जेठ १३ र १४ गते दुई दिनसम्म चलेको उक्त विशेष भेलाले आगामी २०८४ सालको आम निर्वाचनलाई मुख्य लक्ष्य बनाउँदै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि महत्त्वपूर्ण रणनीतिक मार्गनिर्देशन तय गरेको हो।
पारित कार्यदिशामा स्थानीय सरकारलाई जनताको घरदैलोको वास्तविक सरकारका रूपमा स्थापित गर्दै जनसेवामा पूर्ण रूपमा समर्पित गराउने प्रतिवद्धता व्यक्त गरिएको छ । यसका लागि आगामी वर्षलाई ‘कार्यसम्पादन केन्द्रित वर्ष’ का रूपमा मनाउने निर्णय गर्दै विगतका अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने नीति लिइएको छ । स्थानीय तहको सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउँदै सुशासन प्रवर्द्धन, वित्तीय अनुशासन कायम तथा बेरुजु व्यवस्थापनमा कडाइ गरिने विषयलाई कार्यदिशामा विशेष जोड दिइएको छ ।
पार्टीका वरिष्ठ नेता अग्निप्रसाद सापकोटाका अनुसार यो राष्ट्रिय भेला मुख्यतः विचार, विधि, प्रविधि र सङ्गठन गरी चारवटा मुख्य एजेन्डामा केन्द्रित रहेको थियो । निर्वाचनको भावी रणनीतिका सम्बन्धमा बोल्दै नेता सापकोटाले पार्टीले निर्वाचनअघि आफ्नो आन्तरिक सुदृढीकरण र सङ्गठन समायोजनको कामलाई पूर्णता दिने जानकारी दिए। समकालीन राजनीतिमा उदाएका नयाँ राजनीतिक शक्तिहरूसँग स्वस्थ प्रतिष्पर्धा गर्न पार्टी पूर्ण रूपमा तयार रहेको भन्दै उनले जनताका अपेक्षाहरू पूरा गर्न अधिकतम प्रयत्न गरिने बताए।
पार्टीको वर्गीय दृष्टिकोणमा विगतमा केही कमजोरी भएको स्वीकार गर्दै नेता सापकोटाले अबका दिनमा दलित, महिला, आदिवासी जनजाति र सुकुम्बासीका मुद्दामा पार्टी थप एकाकार भएर अघि बढ्ने प्रतिवद्धता जनाए। यसैबीच, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन नगर्ने र मूल कार्यक्रममा सहभागी नहुने भन्ने विषय बाहिरिएकोप्रति टिप्पणी गर्दै उनले यसलाई ‘अस्वाभाविक’ कदमको संज्ञा दिए। यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उनको तर्क थियो।
आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यले नै जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिएको स्पष्ट पार्दै नेता सापकोटाले अहिलेको आधुनिक युगमा विचार र विधिसँगै प्रविधिलाई जोडेर लैजानु अनिवार्य भइसकेको उल्लेख गरे। पार्टीको चुनावी तयारीबारे बोल्दै उनले पहिले आफ्नै पार्टीलाई एकताबद्ध बनाउने र त्यसपछि वामपन्थी संयुक्त मोर्चा बनाएर वा कम्युनिस्ट पार्टीको पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको खुलासा गरे।
काठमाडौँमा सम्पन्न उक्त महत्वपूर्ण भेलामा सातै प्रदेशका इन्चार्ज, संयोजक, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुखहरू, नगरपालिकाहरूका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूसहित देशभरका करिब १५० जना जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलाले प्रत्येक स्थानीय तहमा नमुना र उदाहरणीय कार्य गर्दै समाजवादउन्मुख नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने साझा सङ्कल्प समेत गरेको छ।