जेन-जी आन्दोलन: रास्वपाका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

जेन-जी आन्दोलन: रास्वपाका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौं। जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ जना सांसदहरूमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ।

बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी विशेष प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनालको नाम उल्लेख गरिएको छ।

आयोगको प्रतिवेदनको १० नम्बर बुँदामा ती सांसदहरूको भूमिका शंकास्पद देखिएको उल्लेख गर्दै आन्दोलन अघि, प्रदर्शनका क्रममा र प्रदर्शन पछि उनीहरूले दिएका विभिन्न अभिव्यक्ति, सामाजिक सञ्जालमा व्यक्त गरेका धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको आन्तरिक विवरणका आधारमा विस्तृत अनुसन्धान आवश्यक देखिएको औंल्याइएको छ।

प्रतिवेदनमा ती जनप्रतिनिधिहरूको अभिव्यक्ति र गतिविधिका कारण प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएका हुन् या होइनन्, सार्वजनिक शान्ति र देशको समग्र सुव्यवस्थामा त्यसले कस्तो असर पुर्‍यायो तथा कुनै प्रकारको दुरुत्साहन भएको छ कि छैन भन्ने विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गरिएको छ।

मानव अधिकार आयोगले अनुसन्धान प्रक्रियालाई स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै कानुन सम्मत् ढंगले अघि बढाउन सरकारलाई निर्देश गरेको छ। साथै छानबिनका क्रममा दोषी देखिएका व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाहीको दायरामा ल्याउन समेत आयोगले सरकारसमक्ष जोडदार सिफारिस गरेको छ।

छुटाउनुभयो कि ?