काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक साहले सरकारको कर नीति र नागरिकलाई दिइने सेवा सुविधाको विषयलाई लिएर संसद्मा कडा आलोचना गरेका छन्।
संसद्मा बोल्दै सांसद साहले सरकारले नागरिकबाट असुल गर्ने करको दर युरोपियन मुलुक सरह उच्च भए पनि त्यसबापत दिइने सेवा सुविधा भने सोमालियाको जस्तो दयनीय रहेको टिप्पणी गरे। "प्रजाको सुखमा सरकारको सुख र प्रजाको भलाइमा सरकारको भलाइ हुन्छ भन्ने कूटनीतिक सिद्धान्तलाई सरकारले बिर्सिएको छ," उनले भने।
सांसद साहले देशमा दिनानुदिन आकाशिँदै गएको महँगी र न्यून तलब वृद्धिको अन्तरलाई संसद्मा प्रस्ट्याएका छन्। विगत पाँच वर्षयता मुलुकमा महँगी एकदमै बढेको उल्लेख गर्दै उनले बजारमा महँगी चालिस प्रतिशतले वृद्धि हुँदा कर्मचारी तथा श्रमिकहरूको तलब भने जम्मा १५ प्रतिशतले मात्र बढेको तथ्यांक प्रस्तुत गरे। महँगी र आम्दानीको यो असन्तुलनले गर्दा आम नागरिकको जीविकोपार्जन कष्टकर बन्दै गएको उनको भनाइ थियो।
नेपालको विद्यमान कर प्रणालीमाथि प्रश्न उठाउँदै सांसद साहले हाल नेपालमा ३९ प्रतिशतसम्म कर (ट्याक्स) लिने व्यवस्था रहेको जानकारी दिए। सर्वसाधारण र न्यून आय भएका नागरिकलाई राहत दिनका लागि उनले आगामी बजेटमार्फत करको दाउरा परिमार्जन गर्न सरकारसँग माग गरे।
हाल वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्र कर लाग्दै आएकोमा, आगामी बजेटमार्फत उक्त रकमको थ्रेसहोल्ड (सीमा) लाई बढाएर १० देखि १२ प्रतिशतसम्म पुर्याउन उनले सरकारलाई सुझाव दिएका छन्।