जेन-जी आन्दोलन दमन: सुदन गुरुङको समूहले हिंसा फैलाएको आयोगको ठहर

जेन-जी आन्दोलन दमन: सुदन गुरुङको समूहले हिंसा फैलाएको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते देशभर चर्किएको नवयुवा (जेन-जी) आन्दोलनलाई हिंसात्मक बनाउन निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा परिचालित एक समूह मुख्य रूपमा जिम्मेवार रहेको ठहर गरेको छ।

आयोगले बुधबार सार्वजनिक गरेको विस्तृत अनुसन्धान प्रतिवेदनमा 'हाम्रो नेपाल' का अध्यक्ष सुधन गुरुङको नेतृत्वमा परिचालित भनिएको ‘टीओबी’ (TOB) समूहले शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनलाई नियतवश हिंसा तर्फ धकेलेको उल्लेख गरेको छ।

आयोगको प्रतिवेदन अनुसार, आन्दोलन चलिरहेको स्थानमा अचानक ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा हात र शरीरमा सोही नामको ट्याटु खोपेका १५-२० जनाको बाइकर समूह प्रवेश गरेपछि स्थिति एकाएक असामान्य र नियन्त्रण बाहिर गएको थियो। उक्त समूहले सुरुमा शान्तिपूर्ण रूपमा भइरहेको विद्यार्थी तथा युवाहरूको प्रदर्शनलाई आफ्नो कब्जामा लिएको प्रतिवेदनमा औंल्याइएको छ।

प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई सुरक्षा ढाल (Human Shield) का रूपमा अगाडि सार्दै सुरक्षाकर्मीहरूमाथि निर्मम रूपमा ढुङ्गामुढा प्रहार गरेको थियो। यति मात्र नभई, उत्तेजित बनेको उक्त टोलीले संसद् भवनतर्फ समेत आक्रमण गर्ने र आगजनी गर्ने प्रयास गरेको तथ्य अनुसन्धानबाट खुलेको छ।

यस समूहको उग्र र अराजक गतिविधिका कारण आन्दोलन स्थलमा ठूलो धनजनको क्षति भएको आयोगले जनाएको छ। हिंसा भड्किएपछि सर्वसाधारण बोक्ने एम्बुलेन्स र घटनाको स्थलगत अनुगमनका लागि खटिएको राष्ट्रिय मानवअधिकार आयोगकै अनुगमन टोलीको सवारीसाधनमाथि समेत तोडफोड र आगजनी गरिएको प्रतिवेदनमा विशेष रूपमा उल्लेख छ।

आयोगले आफ्नो निष्कर्षमा प्रदर्शनकारीहरूलाई योजनाबद्ध रूपमा उक्साउने, आक्रोशित बनाउने तथा सुरक्षाकर्मी र संसद् भवन जस्तो संवेदनशील क्षेत्रमा आक्रमण गर्न प्रेरित गर्ने काममा ‘टीओबी’ समूहको स्पष्ट र योजनाबद्ध संलग्नता देखिएको ठहर गरेको छ। यद्यपि, उक्त समूहमा आबद्ध व्यक्तिहरूको वास्तविक पहिचान, आन्दोलनका मूल आयोजकसँग उनीहरूको सम्बन्ध र उनीहरू कसको अन्तिम निर्देशनमा परिचालित भएका थिए भन्ने विषय निकै रहस्यमयी देखिएकाले यसको गहिराइमा पुगेर थप सुक्ष्म अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारलाई विशेष सुझाव दिएको छ।

छुटाउनुभयो कि ?