आर्थिक सर्वेक्षण: ६६ खर्ब पुग्यो अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय १५३५ डलर पुग्ने अनुमान

आर्थिक सर्वेक्षण: ६६ खर्ब पुग्यो अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय १५३५ डलर पुग्ने अनुमान

काठमाडौं। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचक र सामाजिक क्षेत्रमा सन्तोषजनक सुधार देखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धिदरलाई सकारात्मक मानिएको छ।

यसै अवधिमा मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपियाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रराष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशहरूको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान गरिएको छ। आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम रहँदै कुल गार्हस्थ्य उत्पादनमा यसले एक्लै ३६.७ प्रतिशत योगदान पुर्‍याएको छ।

यद्यपि, मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ। चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ।

तर, विकास निर्माणसँग जोडिने पुँजीगत खर्चमा भने अझै उल्लेख्य सुधार हुन सकेको छैन। हाल सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो। यसै वर्ष मात्र सरकारले थप ३ खर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणले देखाएको छ।

आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्रलाई भने निकै बलियो अवस्थामा देखाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ।

यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपियाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यद्यपि, मुलुकको व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपियाँ पुग्नु अर्थतन्त्रका लागि अझै पनि चुनौतीकै रूपमा रहेको छ।

प्रविधिमैत्री भुक्तानीका क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ, जसअन्तर्गत फागुन महिनासम्म क्यूआर कोडमार्फत मात्रै हुने कारोबार १ खर्ब २५ अर्ब रुपियाँ नाघेको छ। यसैगरी सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ’बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको आर्थिक साख सुध्रिएको सङ्केत गर्छ। यो अवधिमा बजारमा मुद्रास्फीति भने नियन्त्रणमै रहँदै औसत २.१३ प्रतिशतमा सीमित भएको छ।

आर्थिक सूचकसँगै मानव विकासका सूचकहरूमा पनि नेपालले राम्रो प्रगति गरेको सर्वेक्षणमा उल्लेख छ। हाल नेपालको मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। स्वास्थ्य क्षेत्रमा भएको सुधारका कारण मातृ मृत्युदर प्रतिलाख १५१ मा र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ।

शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता क्रमशः बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

छुटाउनुभयो कि ?