बक्स अफिसमा ‘लालीबजार’ को दबदबा: ५ करोड ७६ लाख बढी कमाउँदै वर्षकै सर्वाधिक सफल चलचित्र

बक्स अफिसमा ‘लालीबजार’ को दबदबा: ५ करोड ७६ लाख बढी कमाउँदै वर्षकै सर्वाधिक सफल चलचित्र

काठमाडौं। नयाँ वर्ष विसं २०८३ मा प्रदर्शनमा आएका नेपाली चलचित्रहरू मध्ये ‘लालीबजार’ हालसम्मकै सबैभन्दा बढी कमाउने कीर्तिमानी फिल्म बनेको छ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेमा बक्सअफिस’ ले जेठ ९ गतेसम्मको व्यापारिक विवरण सार्वजनिक गरेसँगै यस चलचित्रको लोभलाग्दो व्यावसायिक सफलता बाहिर आएको हो।

बोर्डको आधिकारिक तथ्यांकअनुसार ‘लालीबजार’ ले घरेलु बजारबाट ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ संकलन गरिसकेको छ भने यसका लागि कुल १ लाख ९६ हजार ४०६ वटा टिकट बिक्री भइसकेका छन्।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले हलहरूमा तेस्रो साता पार गर्दा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराईले बोर्डले सार्वजनिक गरेको विवरण गत शनिबारसम्मको मात्र भएको खुलाउँदै हालसम्म फिल्मलाई २ लाखभन्दा बढी दर्शकले हेरिसकेको जानकारी दिएका छन् ।

मनोरञ्जनका साथै शिक्षामूलक सन्देशलाई पर्दामा उतारेका कारण दर्शकले यसलाई औधी रुचाएको उल्लेख गर्दै उनले नेपालको भव्य सफलतापछि अब छिट्टै नै विश्व बजार अर्थात् डायस्पोरामा समेत चलचित्रको प्रदर्शन सुरु गरिने बताए ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हेर्न अहिले सिनेमा हलहरूमा पारिवारिक दर्शकहरूको ओइरो लागिरहेको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई प्रदीप भट्टराईले संयुक्त रूपमा साथ दिएका छन् । म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको यस चलचित्रको विषयवस्तु, सन्तुलित निर्देशकीय पक्ष र कलाकारहरूको जीवन्त अभिनयको सर्वसाधारणदेखि समीक्षकसम्मले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

विशेष गरी आमाको सङ्घर्ष र पारिवारिक सामीप्यताको कथामा आधारित यस चलचित्र हेरेर निस्कने अधिकांश दर्शकहरू भावुक बन्ने गरेका छन् । पर्दामा देखाइएको आमाको त्यागसँग आफ्नो भावना जोडिएको र कतिपय दृश्यमा आँखा रसाएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।

दर्शकमाझ फैलिएको यही सकारात्मक ‘वर्ड अफ माउथ’ अर्थात् मौखिक सिफारिसका कारण आगामी दिनमा पनि चलचित्रको व्यापार अझ सुखद हुने अपेक्षा निर्माण पक्षको छ । चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रशंसा सुवेदी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

छुटाउनुभयो कि ?