काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले निकै रुचाएका छन् ।
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीद्वारा अभिनित यो विशुद्ध प्रेमकथामा आधारित फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया हलबाट बाहिरिएका दर्शकहरूले दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका दर्शकहरू माझ यसमा बुनिएको प्रेमको गहिरो तानाबाना अहिले मुख्य चर्चाको विषय बनेको छ ।
फिल्ममा अभिनेता विपिन कार्की ‘काजी’ र अभिनेत्री केकी अधिकारी ‘कजिनी’ को मुख्य भूमिकामा प्रस्तुत भएका छन् । कजिनीसँगको साँचो प्रेमका कारण काजीले जीवनमा के कस्ता त्याग र संघर्ष गर्छन् भन्ने भावनालाई फिल्ममा मुख्य रूपमा उतारिएको छ ।
फिल्म हेरेर निस्किएका कतिपय दर्शकले त काजीको यो प्रेमलाई नेपाली साहित्यको ‘मुना मदन’ र विश्व प्रसिद्ध ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर विम्बका रूपमा व्याख्या गरेका छन् । हलमा ‘वाह ! काजीको जस्तो पो प्रेम’ र ‘श्रीमान् होस् त काजीको जस्तो’ जस्ता प्रशंसायुक्त प्रतिक्रियाहरू सुन्न सकिन्छ ।
यता अभिनेता विपिन कार्कीले पनि ‘काजी’ मा देखाइएको प्रेमले जुनसुकै वर्गका दर्शकलाई सजिलै ‘कनेक्ट’ गर्ने दाबी गरेका छन् । आफू प्रतिक्रिया लिन पुगेका अधिकांश हलहरूमा दर्शकले फिल्मलाई ‘गज्जबको प्रेमकथा’ भनेर तारिफ गरेको उनले बताए । धेरै समयपछि आफैँलाई पनि भित्रैदेखि छोएको एउटा उत्कृष्ट प्रेमकथालाई पर्दामा ल्याउन पाएको भन्दै उनले यो चलचित्र नेपाली सिनेमा बजारमा धेरै वर्षसम्म चर्चामा रहने विश्वास व्यक्त गरे ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । निर्माता रिजालका अनुसार फिल्मले दर्शकबाट पाएको सकारात्मक ‘वर्ड अफ माउथ’ अर्थात् मौखिक सिफारिसकै कारण दिनहुँ हलहरूमा दर्शकको चाप बढिरहेको छ ।
प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको संख्या सन्तोषजनक रूपमा बढ्दै गएको रिपोर्ट वितरकहरूले दिएका छन् । निर्माता टोलीले बिना कन्जुस्याइँ दर्शकसामु एउटा स्तरीय फिल्म पस्किएकाले एकपटक हलमै पुगेर यसको मूल्यांकन गरिदिन सबैमा अनुरोध समेत गरेको छ ।
चलचित्र प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजाल लगायतको टोली काठमाडौं उपत्यकाका विभिन्न सिनेमा हलहरूमा पुगेर प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरेको थियो ।
निर्देशक लक्ष्मण रिजालले ‘काजी’ कुनै गाउँको मुखिया वा ठूलाबडाको परम्परागत कथा नभई प्रेम, समर्पण र सम्बन्धको एउटा नितान्त भावनात्मक यात्रा रहेको प्रष्ट पारे । अभिनेत्री केकी अधिकारीले पनि आफ्नो लामो अभिनय यात्रामा ‘काजी’ चलचित्रले सधैँ विशेष महत्त्व राख्ने बताइन् ।