काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री शाह र कूटनीतिज्ञहरूबीच भोलि बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेटघाट र उच्चस्तरीय संवादको कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटवार्ताका क्रममा नेपाल सरकारका वर्तमान प्राथमिकता, विकासका एजेन्डा र आपसी चासोका विषयमा विदेशी कूटनीतिज्ञहरूलाई जानकारी गराइनेछ।
बैठकमा नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा पारस्परिक हित र सहकार्यका विविध आयामहरूमा छलफल केन्द्रित हुने उनले जानकारी दिइन्।
पछिल्लो समय विदेशी कूटनीतिक नियोगहरूसँगको संवादलाई तीव्र बनाएका प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते पनि नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग बालुवाटारमा सामूहिक भेट र संवाद गरेका थिए।
भोलि हुन लागेको यो दोस्रो ठूलो सामूहिक कूटनीतिक संवादले नेपालको बाह्य सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई थप परिपक्व बनाउने अपेक्षा गरिएको छ।