काठमाडौं। सरकारले सहकारी क्षेत्रमा देखा परेका समस्या र विकृतिहरूको अध्ययन गरी तयार पारिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनलाई आम सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सहकारी क्षेत्रको सुधार र पारदर्शीताका लागि आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको बताए।
यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल र चीन जोड्ने अन्तरदेशीय विद्युत प्रसारण लाइन आयोजना 'चिलिमे–केरुङ' कार्यान्वयनका लागि नयाँ कदम चालेको छ।
बैठकले उक्त महत्वपूर्ण आयोजना अगाडि बढाउने सिलसिलामा चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र (रेस्पोन्स लेटर) लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए। यो निर्णयसँगै दुई देशबीचको ऊर्जा व्यापार र कनेक्टिभिटीको ढोका खोल्न थप सहज हुने विश्वास लिइएको छ।
बैठकले प्रशासनिक क्षेत्रतर्फ पनि एक महत्त्वपूर्ण नियुक्ति गरेको छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। उड्डयन क्षेत्रको व्यवस्थापन र नियामक निकायको नेतृत्व सुधार्न सरकारले सहसचिव डंगोललाई सो जिम्मेवारी सुम्पेको हो।