सर्लाही। प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीहरूलाई शिक्षित बनाउन र समाजमा सम्मानका साथ हुर्काउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह गरेकी छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित दुई दिने ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई आइतबार सम्बोधन गर्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध आफ्नो अन्तिम श्वास रहुन्जेल संघर्ष गरिरहने दृढता व्यक्त गरिन्। समाज रूपान्तरणका लागि छोरीहरूको शिक्षा अनिवार्य रहेकोमा जोड दिँदै उहाँले दाइजो र बालविवाह देशकै लागि ठुलो कलंक बनेको उल्लेख गरिन्।
उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, पारिवारिक सम्बन्धहरू बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथा नै मुख्य कारक रहेको बताइन्। दाइजो लेनदेन दुवै परिवारका लागि अभिशाप साबित भइरहेको उल्लेख गर्दै उनले यस्तो कुप्रथाको पूर्ण अन्त्यका लागि समाजका सबै तह र तप्काबाट सशक्त अभियान चलाउनुपर्ने धारणा राखिन्।
सोही क्रममा उनले पछिल्लो समय किशोर-किशोरीहरू आवेगमा आएर घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोतर्फ गम्भीर चिन्ता व्यक्त गरिन्। युवापुस्तालाई अभिभावकको जगमगाउँदो सुझाव र मार्गदर्शनलाई गलत अर्थमा नलिन तथा जस्तोसुकै परिस्थितिमा पनि हतारमा निर्णय नगर्न उनले आग्रह गरिन्।
यसैगरी, कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद नीतिमा कार्की भण्डारीले समाजमा जरो गाडेर बसेका कुरीति, कुसंस्कार र विविध विभेदहरूलाई गुणस्तरीय शिक्षाका माध्यमबाट मात्रै जरैदेखि उखेलेर फाल्न सकिने बताइन्।
एउटी छोरी शिक्षित भएमा सिंगो परिवार र समाज नै सबल तथा सचेत बन्ने भएकाले छोरीहरूको शिक्षा र व्यक्तित्व विकासमा विशेष ध्यान दिन र लगानी बढाउन उनले सम्पूर्ण सरोकारवालाहरूसँग अपिल गरिन्।