जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सत्ता साझेदार दल जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि विकसित राजनीतिक घटनाक्रमका बीच मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक आह्वान गरेका थिए।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावमाथि भएको मतदानमा कुल उपस्थित १०० जना सांसदमध्ये उनको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। यो सङ्ख्या प्रदेश सभामा उपस्थित सांसदहरूको दुई तिहाइभन्दा बढी भएकाले सभामुखले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र नेपाली संघीय समाजवादी पार्टीले मतदान गरेका थिए। विपक्षी कित्तामा उभिएका जनमत पार्टी, जसपा नेपाल र राप्रपाले भने प्रस्तावको विपक्षमा मत हालेका थिए। आजको मतदान प्रक्रिया सकिएसँगै प्रदेश सभाको अर्को बैठक आगामी सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।