काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएसँगै नेतृत्वको कार्यशैलीलाई लिएर विवाद र विरोधका स्वरहरू बाहिर आएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले अध्यक्षकै कार्यशैली र पार्टी सञ्चालन पद्धतिप्रति असन्तुष्टि जनाउँदै आ–आफ्नो कडा धारणा र विचारहरू खुलेर राखेका छन्।
बैठकमा उपाध्यक्षहरूले निर्वाचनमा पार्टीले ब्यहोर्नुपरेको परिणाम र पार्टीभित्र बढ्दै गएको एकाधिकारलाई लिएर नेतृत्वको चर्को आलोचना गरेका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ, जहाँ नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा नेतृत्वको कमजोरी औंल्याएका थिए।
बैठकको यो आक्रामक स्वरूपलाई संकेत गर्दै गौतमले भने, ‘सायद यो बैठक यसरी चलेको पहिलो चोटी होला, जहाँ नेताहरूले लामो समय लिएर आफ्ना खुलेर विचारहरू प्रस्तुत गर्नुभएको छ।’ उपाध्यक्षहरूले उठाएका गम्भीर प्रश्न र आलोचनाको बचाउ गर्न तथा विषयवस्तु स्पष्ट पार्नका लागि बैठकको बीच–बीचमा पार्टी अध्यक्ष ओली आफैँले स्पष्टीकरण दिँदै सहजीकरण समेत गर्नुपरेको थियो।
पहिलो दिन असन्तुष्टिका स्वरहरू मुखरित भएपछि नेताहरूको कार्यविभाजन जस्तो संवेदनशील विषयमा भने आज प्रवेश नै हुन सकेन। प्रस्तावित कार्यविभाजनमा अध्यक्षले आफूखुसी गर्न खोजेको भन्दै नेताहरूले केही गम्भीर संशोधनको आवश्यकता औंल्याएका छन्। प्रमुख गौतमले भने, ‘त्यो एजेन्डामै आउँदा हाम्रा कुराहरू राख्छौं। प्रस्तावित कार्यविभाजनमा कसका के सुझाव छन्, आवश्यक पर्दा त्यसलाई संशोधन पनि गरेर जानुपर्ला।’
नेतृत्वमाथि प्रश्न उठेपछि सचिवालयको वातावरण थप गर्माएको छ। अर्को बैठक भोलि बिहान ११ः३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको छ। प्रचार विभाग प्रमुख गौतमका अनुसार भोलिको बैठकमा उनीसहित बोल्न बाँकी रहेका अन्य १२ जना नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ, जहाँ ओलीको कार्यशैलीमाथि थप दबाब बढ्ने अनुमान गरिएको छ।