प्रधानमन्त्री नआउँदा मलाई कुनै नैतिक संकट छैन, म दबाबमा बस्ने मान्छे होइन: रवि लामिछाने

प्रधानमन्त्री नआउँदा मलाई कुनै नैतिक संकट छैन, म दबाबमा बस्ने मान्छे होइन: रवि लामिछाने

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएकै कारण आफू कुनै पनि प्रकारको दबाब वा नैतिक संकटमा नपरेको स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू दबाब र प्रभावमा परेर काम गर्ने व्यक्ति नभएकाले प्रधानमन्त्रीको अनुपस्थितिले आफ्नो पार्टीलाई कुनै असर नगरेको दाबी गरे। संसद्मा प्रधानमन्त्रीको खोजी चर्किएपछि उत्पन्न परिस्थितिबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा सभापति लामिछानेले कतिपय संसदीय प्रक्रियाहरू पूरा हुँदै जाने क्रममा रहेको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे।

उनले सरकारले परिणाममुखी काम गरिरहेको जिकिर गर्दै संसद्को गत्यावरोध भन्दा पनि सरकारको कामकारबाही सुस्त हुनु आफ्ना लागि चिन्ताको विषय हुने धारणा राखे। "सरकारको यो काम भएन भन्ने जनस्तरबाट आवाज आयो भने मेरा लागि दबाब हुन्छ, तर अहिले सरकारले निरन्तर काम गरिरहेको छ र यसको परिणाम पनि छिट्टै आउँदैछ," लामिछानेले भने। सञ्चारमाध्यमहरूले सत्ता पक्षको बचाउ वा आलोचना भन्दा प्रतिपक्षी दलका आवाज र मुद्दाहरूलाई बढी स्थान दिनु लोकतन्त्रका लागि राम्रो हुने सुझाव समेत उनले दिए।

प्रधानमन्त्री बालेन शाह संसद्‌मा कहिले आउँछन् र विपक्षीको प्रश्नको जवाफ दिन्छन् भन्ने चासोका बीच लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा उपस्थित हुने दाबी गरे। प्रधानमन्त्री कतै नहराएको र नियमित काममै सक्रिय रहेको स्पष्ट पार्दै उनले उपयुक्त समयमा शाह संसद्‌मा देखिएर आफ्ना कुरा राख्ने जिकिर गरे।

यसैबीच, आफ्नो दल रास्वपा आगामी महाधिवेशनको तयारीमा केन्द्रित भइसकेको जानकारी दिँदै उनले विधानको बाध्यता र छिटो परिणाम निकाल्नुपर्ने आवश्यकताका कारण पार्टी पूर्ण तयारीका साथ अघि बढेको र महाधिवेशनमार्फत दललाई थप व्यवस्थित बनाइने बताए।