सभामुखले पेलेरै चलाए संसद् बैठक: आक्रोशित विपक्षीद्वारा वेल घेराउ, 'निरंकुश सरकार मूर्दावाद'को नारा

सभामुखले पेलेरै चलाए संसद् बैठक: आक्रोशित विपक्षीद्वारा वेल घेराउ, 'निरंकुश सरकार मूर्दावाद'को नारा

काठमाडौँ।  प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिनिधिसभामा सिर्जित गतिरोध बिहीबार झन् उग्र बनेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्प्रति जवाफदेही नभएको र सदनमा अनिवार्य उपस्थित हुनुपर्ने अडान राख्दै विपक्षी दलका सांसदहरूले संसद् बैठक घेराउ गरी तीव्र होहल्ला र नाराबाजी गरेका छन्।

विपक्षीहरूको चर्को विरोध र वेल घेराउका बाबजुद सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै संसद्को काम कारबाही अघि बढाएपछि नेकपा एमाले र नेकपासहितका विपक्षी दलका सांसदहरू थप आक्रोशित बनेका हुन्।

यसअघि विपक्षी दलहरूको निरन्तरको विरोध र अवरोधका कारण सभामुख अर्यालले प्रतिनिधिसभाको पहिलो बैठक स्थगित गर्नुपरेको थियो। संसद् खुलाउने विषयमा सहमति जुट्न नसके पनि आजै सुरु भएको दोस्रो बैठकमा सभामुखले विपक्षीका मागलाई बेवास्ता गर्दै सदनको नियमित कार्यसूची अघि बढाउने कदम चालेका थिए। सभामुखको यो कदमपछि संसद्को वातावरण नियन्त्रण बाहिर पुगेको थियो।

सभामुखले जबरजस्ती बैठक अगाडि बढाएपछि रुष्ट बनेका विपक्षी सांसदहरू वेलमा ओर्लिएर चर्को नाराबाजीमा उत्रिएका थिए। संसद् भवनमा आक्रोश पोख्दै उनीहरूले ‘विपक्षीका माग सम्बोधन गर’, ‘गैरलोकतान्त्रिक प्रवृत्ति मूर्दावाद’, ‘निरंकुश सरकार मूर्दावाद’ र ‘संसदीय मर्यादा कायम गर’ जस्ता कडा राजनीतिक नाराहरू लगाएका छन्। प्रधानमन्त्रीको जवाफदेहिता खोज्दै विपक्षीले सदन ठप्प पार्न खोजे पनि सभामुखले बैठकलाई निरन्तरता दिएपछि सिंहदरबार र संसद्बीचको दुरी थप बढेको संकेत देखिएको छ।