काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई संसद्मा बोल्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स 'च्याटजीपीटी' को प्रयोग नगर्न सचेत गराएको छ। रास्वपाका सांसदहरूले सदनमा उठाउने विषयवस्तु र भाषणको तयारीका लागि च्याटजीपीटीको अत्यधिक प्रयोग गर्न थालेपछि पार्टीका तर्फबाट सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न कडा निर्देशन दिएकी हुन्।
सांसदहरूको आन्तरिक ग्रुपमा निर्देशन जारी गर्दै सचेतक धितालले पर्याप्त अध्ययन र विषयवस्तु नभएको खण्डमा संसद्मा नबोल्न प्रष्ट पारेकी छन्। यदि बोल्नै परेको खण्डमा पनि केवल च्याटजीपीटीको भरमा मात्रै नबोल्न र आफ्नै अध्ययन एवं तथ्यका आधारमा प्रस्तुति दिन उनले सचेत गराएकी हुन्।
प्रविधिको प्रयोग सकारात्मक भए पनि जनप्रतिनिधिहरूले देशको सर्वोच्च नीति निर्माण तहमा बोल्दा एआई जेनेरेटेड सामग्रीमा मात्रै निर्भर हुनु परिपक्व राजनीतिक चरित्र नभएको पार्टीको निष्कर्ष छ।
प्रतिनिधिसभामा रास्वपाका १८१ जना सांसदहरू रहेका छन्। पछिल्लो समय संसद्का विभिन्न बैठकहरूमा रास्वपाका सांसदहरूले आफ्ना धारणा राख्दा र प्रश्न सोध्दा च्याटजीपीटीको भाषा र बुँदाहरू जस्ताको तस्तै प्रयोग गरेको भन्दै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको थियो। यही आलोचना र बौद्धिक प्रामाणिकताको प्रश्न उठेपछि पार्टीले आफ्ना सांसदहरूको प्रस्तुतिलाई थप जिम्मेवार र अध्ययनशील बनाउन यस्तो कदम चालेको हो।