काठमाडौं। यसवर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। पर्यटन विभागका अनुसार सन् २०२६ को यस सिजनमा हिमाल आरोहणका लागि ७९ वटा देशका कुल १ हजार १८१ जना आरोहीहरूले अनुमति लिएका छन्।
विभागका सूचना अधिकारी हिमाल गौतमले दिएको जानकारी अनुसार सबैभन्दा धेरै अनुमति विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रदान गरिएको छ । हालसम्म सगरमाथा चढ्नका लागि मात्रै ५५ देशका ४९४ जना आरोहीहरूले अनुमति बुझिसकेका छन् ।
सगरमाथामा चिनियाँ र अमेरिकीको दबदबा
सगरमाथा आरोहणका लागि सबैभन्दा बढी १०९ जना चिनियाँ नागरिकले अनुमति लिएका छन् । यसैगरी अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ र ब्राजिलका १० जनाले सगरमाथा आरोहणको अनुमति लिएको सूचना अधिकारी गौतमले बताए ।
सगरमाथाबाहेक अन्य हिमालतर्फ ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६ र धवलागिरिका लागि ३० जनाले आरोहण अनुमति लिएका छन् ।
राजस्व सङ्कलन सवा अर्ब पार
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमालको आरोहण अनुमति दिँदै आएको छ भने सोभन्दा साना (५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्मका) हिमालको अनुमति दिने जिम्मा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लाई तोकिएको छ ।
विभागले यस वर्ष विभिन्न हिमालको अनुमति जारी गरेबापत कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसमध्ये सिंहभाग राजस्व सगरमाथाबाट मात्रै संकलन भएको छ, जसको रकम १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ रहेको छ ।
यस्तै, ल्होत्सेबाट ६ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजङ्घाबाट १ करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट १ करोड ३४ लाख ५४ हजार ५५० र अन्नपूर्ण प्रथमबाट १ करोड २० लाख ४९ conceit हजार १७५ रुपैयाँ रोयल्टी उठेको छ ।
डोरी टाँग्ने (रोप फिक्सिङ) र बाटो बनाउने काम सम्पन्न भएसँगै यही वैशाख ३१ गतेबाटै यसवर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भइसकेको छ । हाल आरोहीहरू धमाधम शिखरतर्फ लम्किरहेका छन्, जसले नेपालका हिमालहरूमा विदेशी पर्वतारोहीहरूको आकर्षण थप चुलिँदै गएको प्रस्ट पार्छ ।