प्रतिनिधि सभामा हर्क साम्पाङको विरोध: ‘सदनदेखि भाग्न मिल्दैन’ भन्दै प्रदर्शन

प्रतिनिधि सभामा हर्क साम्पाङको विरोध: ‘सदनदेखि भाग्न मिल्दैन’ भन्दै प्रदर्शन

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता एवं अध्यक्ष हर्क साम्पाङले संसद्‍भित्रै पर्चा देखाएर विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै उनले आनो स्थानबाट उठेर प्रधानमन्त्री र मन्त्रीहरूको जवाफदेहिता माग गर्दै पर्चा प्रदर्शन गरेका हुन्।

सांसद साम्पाङले प्रतिनिधि सभा नियमावलीको नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसद् र जनताप्रति जबाफदेही बनाउनुपर्ने माग राखेका थिए। उनले प्रदर्शन गरेको पर्चामा ‘सदनदेखि भाग्न मिल्दैन’ भनी लेखिएको थियो।

साम्पाङले विरोध गरिरहँदा सभामुख डिपी अर्यालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र संसद् सचिवालयमा यसबारे कुरा गर्ने प्रतिबद्धता जनाएपछि साम्पाङ आफ्नो आशनमा बसेका थिए।

यसअघि सोमबारको प्रतिनिधि सभा बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्टम घेराउ गर्दै पर्चा देखाएर विरोध प्रदर्शन गरेका थिए।

संसद्‍मा लगातार यस्ता दृश्य देखिन थालेपछि सभामुख अर्यालले श्रम संस्कृति पार्टीलाई संसद्को मर्यादाभित्रै रहेर मात्र आफ्ना विरोधका कार्यक्रमहरू गर्न सचेत गराएका छन्। विरोधका बीच प्रतिनिधि सभाको बैठक अहिले पनि नियमित रूपमा जारी छ।

छुटाउनुभयो कि ?