काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका डा. मनोजकुमार शर्माविरुद्ध परेका उजुरीहरूमाथि आज (मंगलबार) बाटै संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने भएको छ। शर्माविरुद्ध सर्वसाधारणबाट प्राप्त भएका उजुरीहरू खोल्न र सोउपर छलफल गर्नका लागि संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बोलाइएको छ।
यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समयसीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्धारित समयावधिभित्र शर्माविरुद्ध संसद् सचिवालयमा १६ वटा उजुरी दर्ता भएका हुन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आज बिहान बस्ने बैठकको प्रारम्भमा प्राप्त भएका उजुरीहरू खोल्ने र ती उजुरीका प्रतिलिपिहरू समितिमा आबद्ध सांसदहरूलाई अध्ययनका लागि वितरण गरिनेछ। सांसदहरूलाई उजुरी वितरण गरिसकेलगत्तै आजै बिहान १० बजेको आसपासबाट उजुरकर्ताहरूलाई बोलाएर छलफल सुरु गर्ने समितिको तयारी छ।
सभापति श्रेष्ठले उजुरकर्ताहरूसँगको छलफल सकिएपछि पनि बैठकलाई निरन्तर राखिने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मालाई समितिमा प्रस्तुत गराई उहाँको संसदीय सुनुवाइ प्रक्रियालाई अगाडि बढाइने जानकारी दिनुभएको छ। सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।