काठमाडाैं। स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूको स्वामित्वमा रहेका जग्गा र भौतिक पूर्वाधारको सुरक्षा एवं संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ।
मन्त्रालयले एक विशेष परिपत्र जारी गर्दै आफ्ना नाममा रहेका जग्गाहरूको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए–नभएको यकिन गर्न र अनधिकृत रूपमा निर्माण गरिएका संरचना वा अतिक्रमणको विस्तृत विवरण संकलन गर्न भनेको छ।
अस्पतालको सम्पत्ति संरक्षण गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यो सक्रियता देखाएको हो।
मन्त्रालयको निर्देशनअनुसार अतिक्रमण गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा दिएर लिखित रूपमा सचेत गराउनुपर्नेछ। सूचनाको पालना नगर्ने पक्षलाई जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी हटाउन र अस्पतालको भोगाधिकार पुनः कायम गर्न मन्त्रालयले कडा निर्देशन दिएको छ।
साथै, भविष्यमा हुन सक्ने सम्भावित अतिक्रमण रोक्न खाली जग्गामा तत्काल घेराबार (कम्पाउण्ड वाल) लगाउन र सुरक्षाका आवश्यक उपायहरू अपनाउन समेत भनिएको छ।
यस प्रक्रियामा जग्गाको लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न अस्पतालहरूलाई सूचित गरिएको छ।
मन्त्रालयले वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका ठूला संस्थाहरूलाई पत्र काटेको छ। त्यसैगरी कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल, परोपकार प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, कोशी, भेरी र नारायणी जस्ता प्रमुख अस्पतालहरूलाई पनि आफ्नो सम्पत्ति सुरक्षित राख्न र अतिक्रमणको लगत बुझाउन ताकेता गरिएको छ।