गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका नासु यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झन्डै १० करोड बिगो दाबी

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका नासु यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झन्डै १० करोड बिगो दाबी

काठमाडौं। गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु आचार्यले आफ्नो वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगले गरेको छानबिन अनुसार आचार्य र उनको परिवारको समग्र वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ मात्र देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा विभिन्न क्षेत्रमा भएको लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ भेटिएपछि वैधानिक स्रोत नखुलेको बाँकी रकम गैरकानुनी आर्जन भएको निष्कर्ष आयोगले निकालेको छ।

आचार्यमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्नुका साथै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको गम्भीर आरोपसमेत लगाइएको छ।

उक्त मुद्दामा नासु आचार्यका साथै उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ। आयोगले आचार्यकी पत्नी र अन्य प्रतिवादीहरूमाथि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग पुर्‍याएको आरोप लगाउँदै उनीहरूबाट समेत गैरकानुनी सम्पत्ति जफत र कानुनबमोजिम कडा सजायको माग गरेको छ।