सभामुखको आग्रहले पनि खुलेन संसद: प्रधानमन्त्रीसँग संवाद गरेर मात्रै भोलि बैठक बस्ने

सभामुखको आग्रहले पनि खुलेन संसद: प्रधानमन्त्रीसँग संवाद गरेर मात्रै भोलि बैठक बस्ने

काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण स्थगित भएको छ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित नभएको र विपक्षीले उठाएका प्रश्नको जवाफ दिन अर्थमन्त्रीलाई अघि सारेको भन्दै प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएपछि सदनको कामकारबाही प्रभावित भएको हो।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र रुलिङको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

सदनको कार्यसूचीअनुसार आज नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुने कार्यक्रम थियो। प्रधानमन्त्रीले आफ्नो कार्यव्यस्तता देखाउँदै सदनमा उठेका जिज्ञासाहरूको जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुम्पिएको जानकारी सभामुखले गराउनासाथ विपक्षी दलहरूले त्यसको कडा प्रतिवाद गरेका थिए।

महत्वपूर्ण नीतिगत बहसमा सरकारको प्रमुख व्यक्तिको उपस्थिति अनिवार्य हुनुपर्ने र प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेको आरोप विपक्षी दलका नेताहरूले लगाएका छन्।

बैठक सञ्चालनका लागि सभामुख अर्यालले पटक-पटक आग्रह गर्दै सदनको मर्यादा र छलफलको महत्त्वबारे विपक्षीलाई सम्झाउने प्रयास गरेका थिए। उनले आजको कार्यसूची अघि बढाउन र आफ्ना कुरा छलफलकै क्रममा राख्न अनुरोध गरे पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन्।

सदनमा जारी गतिरोध अन्त्यका लागि सभामुखले आफू स्वयंले प्रधानमन्त्रीसँग संवाद गर्ने र भोलिको बैठकअघि सहमतिको वातावरण बनाउने आश्वासन दिएका छन्। प्रधानमन्त्री र विपक्षी दलहरूबीचको यो खिचातानीले नीति तथा कार्यक्रम पारित गर्ने संसदीय समयतालिकामा समेत असर पर्न सक्ने देखिएको छ।

छुटाउनुभयो कि ?