काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र वर्तमान कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपालाई ‘महत्त्वाकाङ्क्षी र अराजक समूहहरूको अस्थायी गठजोड’को संज्ञा दिए।
सम्बोधनका क्रममा उपाध्यक्ष बादलले सरकारले संसद् अधिवेशन अन्त्य गरेर एकै पटक ८ वटा अध्यादेश ल्याउनुको पछाडि गम्भीर राजनीतिक स्वार्थ लुकेको दाबी गरे। "यसको राजनीतिक लक्ष्य राज्यको प्रशासनतन्त्र र न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो र यसमा रास्वपा सफल रह्यो," उनले भने।
बादलले रास्वपाको सफलतालाई कुनै राजनीतिक बलिदान वा विचारधाराको परिणाम नभई पुराना दलहरूको कमजोरी र प्रविधिको खेलका रूपमा चित्रण गरे। उनले भने, "यो सफलता दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र एल्गोरिदमको जादु तथा विश्व भू-राजनीतिक दृश्य-अदृश्य प्रभावहरूको कुल परिणाम हो।"
राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघीय तहमा रास्वपाको एकल नेतृत्व स्थापित गर्ने सङ्केत गरेको बादलको तर्क थियो। रास्वपाको कुनै वैज्ञानिक विचारधारा नभएको उल्लेख गर्दै उनले यसलाई अत्यन्त महत्त्वाकाङ्क्षी जमातको गठजोडका रूपमा अथ्र्याउनुभयो। उहाँले नीति तथा कार्यक्रम राष्ट्रिय हित र नागरिक सुरक्षामा केन्द्रित हुनुपर्ने भए पनि वर्तमान नेतृत्वको भूमिका त्यस्तो नदेखिएको टिप्पणी गरे।