काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदीय जवाफदेहिताबाट पन्छिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले सदनमा उठेका जनचासोका प्रश्नहरूको उत्तर दिन नसक्नु प्रधानमन्त्रीको 'अयोग्यता र असक्षमता' भएको टिप्पणी गरे ।
संसद्मा सरकारको उपस्थितिलाई लिएर प्रश्न उठाउँदै उनले भने, "यो सरकार छ कि छैन ? प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नु पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिनु भनेको जनतालाई उपेक्षा गर्नु हो । के हाम्रो प्रधानमन्त्री प्रश्नहरूको सामना गर्न नसक्ने गरी अयोग्य बन्नुभएको हो ?"
उनले लोकतन्त्रमा जनता सरकारसँग डराउनुपर्ने अवस्था सृजना भएको भन्दै आपत्ति जनाए । जनताको जिउधन र सीमा रक्षा गर्न नसक्ने सरकार सफल हुन नसक्ने उनको तर्क थियो । महाकाली नदी पारि भइरहेको निर्माण कार्यको उदाहरण दिँदै साम्पाङले सरकार छिमेकी मुलुकको गतिविधिमा मुकदर्शक बनेको आरोप लगाए ।
"सीमावर्ती क्षेत्रमा भइरहेका निर्माण कार्य कसको अनुमतिमा भइरहेका छन् ? सरकार किन मौन छ ? यसको जवाफ सदन वा पत्रकार सम्मेलनमार्फत जनतालाई दिनुपर्छ," उनले माग गरे । साथै, सरकारले नीति तथा कार्यक्रम ल्याउँदा प्रतिपक्षसँग कुनै छलफल र परामर्श नगरी एकलौटी ढङ्गले खाका तयार पारेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।