प्रधानमन्त्रीको बचाउमा सल्लाहकार शाहले लेखेको स्ट्याटस १० मिनेटमै गायव

प्रधानमन्त्रीको बचाउमा सल्लाहकार शाहले लेखेको स्ट्याटस १० मिनेटमै गायव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा स्पष्टीकरण पोष्ट केही बेरमै हटाएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बैठक हलबाट बाहिरिएको विषयमा सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि शाहले त्यसको बचाउमा फेसबुक स्ट्याटस लेखेका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेकै समयमा प्रधानमन्त्री हलबाट बाहिरिएपछि उहाँको मर्यादा र स्वास्थ्यलाई लिएर विभिन्न टिप्पणी भएका थिए । ती टिप्पणीको जवाफ दिने क्रममा सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा केही असहजता देखिएका कारण केही समय विश्राम लिएको दाबी गरेका थिए ।

उनले लेखेका थिए, "प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।"

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ कार्यक्रममा पुनः फर्किएको जानकारीसहितको सो पोष्ट सार्वजनिक भएको १० मिनेट नबित्दै एकाएक हटेको (डिलेट भएको) हो । सल्लाहकार शाह आफैँले उक्त पोष्ट हटाएका हुन् वा अन्य कुनै प्राविधिक कारणले गायब भएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन ।

महत्वपूर्ण राजकीय समारोहको समयमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर टिकाटिप्पणी भइरहेका बेला सल्लाहकारको 'स्ट्याटस' गायब हुनुलाई धेरैले चासोका साथ हेरेका छन् ।