काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी लगायत अन्य विपक्षी दलहरूको अवरोधका बीच अगाडि बढेको छ।
बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि केही समय सदनको कारबाही प्रभावित भएको थियो। संसद् सुरु हुनासाथ विपक्षीहरूको नाराबाजी र उठेर विरोध गर्ने कार्य नरोकिएपछि सदनमा केही बेर अन्योलको वातावरण सिर्जना भएको थियो।
विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठकलाई सुचारु गर्न पटक-पटक आग्रह गरेका थिए। उनले आजको बैठकका लागि आकस्मिक समय निर्धारण भइसकेको र सांसदहरूले आफ्ना धारणा राख्ने अवसर पाउने जानकारी गराउँदै सदनको कामकारबाहीमा बाधा नपुर्याउन अनुरोध गरे।
सभामुखको उक्त आग्रह र आकस्मिक समयमा बोल्न दिने प्रतिबद्धतापछि विपक्षी सांसदहरू बस्न सहमत भएसँगै बैठकको कार्यसूची अगाडि बढाइएको हो। अहिले सदनमा सांसदहरूले समसामयिक र सार्वजनिक महत्त्वका विषयमा आफ्ना धारणा राखिरहेका छन्।