काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट आन्दोलनभित्र गम्भीर आत्मसमीक्षासहितको एकता र पुनर्गठन अपरिहार्य भएको बताएका छन्।
स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकताको पक्षमा भए पनि वैचारिक स्पष्टता र ठोस साङ्गठनिक विधिको अभावमा विगतका प्रयासहरू दिगो हुन नसकेको स्वीकार गरे। उनले एकतालाई सुदृढ बनाउन केवल नेतृत्वको चाहना मात्र पर्याप्त नहुने भन्दै यसका लागि व्यापक वैचारिक बहस र नीतिको विकास हुनुपर्नेमा जोड दिए।
कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि चर्चा गर्दै प्रचण्डले विभाजन र एकताको श्रृङ्खला अन्तर्राष्ट्रिय रूपमा पनि चल्दै आएको र नेपालमा पनि यो प्रक्रिया जारी रहने उल्लेख गरे।
उनले अहिलेको अवस्थामा कम्युनिस्ट एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताउँदै सच्चा क्रान्तिकारीहरू एकठाउँमा उभिनुपर्ने आवश्यकता झन् बढेर गएको स्पष्ट पारे। विगतका कमजोरीहरूबाट पाठ सिक्दै र ती गल्तीहरूलाई सच्याउँदै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु नै अहिलेको मुख्य कार्यभार रहेको उनको भनाइ थियो।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै प्रचण्डले वैदेशिक पूँजीपति र साम्राज्यवादी शक्तिहरूको बढ्दो हस्तक्षेपका कारण देश चुनौतीपूर्ण मोडमा पुगेको दाबी गरे।
भर्खरै सम्पन्न निर्वाचनमा कम्युनिस्ट शक्तिहरूलाई कमजोर बनाउन पर्दाभित्रबाट विभिन्न खेलहरू भएको आशंका व्यक्त गर्दै उनले ती सबै तथ्यहरू समयक्रमसँगै अध्ययन र अनुसन्धानबाट खुल्दै जाने बताए। देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाउँदै उनले यसका विरुद्ध श्रमजीवी वर्गको हितमा सम्पूर्ण शक्तिहरू एकताबद्ध भएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।