राजेश र करिस्मा अभिनित ‘म हुँ पानी.’ गति सार्वजनिक
नेपाल डेली
आइतबार, २७ बैशाख २०८३, १० : ३० मा प्रकाशित
काठमाडौं। ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा अभिनेत्री करिस्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देबेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी संचालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिती थियो।
प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ।
म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ । केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा काम गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन्।
भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि सशक्त अभिनय देख्न सकिन्छ। गीतमा बम बहादुर कार्की स्वयम्को शब्द र सङ्गीत छ। स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन्। सङ्गीत संयोजन बि.बि.अनुरागीले गरेको छन्।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन्। भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यहरूलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरू पनि देखाइएको छ। गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्ने रहेको छ।
गीतले पानीले आफ्नो महत्व दर्साउँदै मानिसहरूलाई यसको संरक्षण गर्न र प्रदूषित नबनाउन आग्रह गरेको छ। गोरखा म्युजिकमार्फत गीत सार्वजनिक भएको हो।
कार्यक्रममा महानायक हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे। उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे उनले चर्चा गरेका थिए।
कार्यक्रममा हमालले गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे। आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे।
अभिनेत्री करिस्मा मानन्धरले गीतर भिडियो राम्रो बनेको भन्दै प्रसंसा गरिन्। गायक बम बहादुर कार्कीले मानब जीवनमा पानीको महत्व बुझाउन र संरक्षण् सन्देश दिन गीत बनाएको बताए।