अध्यादेश र दबाबको राजनीति: प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति हर्क साम्पाङको कडा आपत्ति

अध्यादेश र दबाबको राजनीति: प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति हर्क साम्पाङको कडा आपत्ति

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया र त्यसमा उपसभामुख रुबीकुमारी ठाकुरले गरेको हस्ताक्षरप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले संवैधानिक परिषद्को बैठकबाट वरीयता मिचेर गरिएको निर्णयमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख ठाकुर सहभागी हुनु र हस्ताक्षर गर्नु खेदपूर्ण रहेको टिप्पणी गरेका हुन्।

उनले विधिको शासन र वरीयताको क्रमलाई उल्लङ्घन गरेर गरिएको यस्तो निर्णयले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको उल्लेख गरेका छन्।

अध्यक्ष साम्पाङले संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिनु आफैँमा गलत कदम भएको दाबी गरेका छन्।

विज्ञप्तिमा उनले प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विवादास्पद विषयहरूको प्रसङ्ग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको गम्भीर आरोप समेत लगाएका छन्।

यस्तो संवेदनशील अवस्थामा पार्टीको नीति र विधिको मर्यादा विपरीत उपसभामुख ठाकुरले हस्ताक्षर गरेकोमा पार्टीको आधिकारिक असहमति रहेको उनले प्रष्ट पारेका छन्।

साम्पाङले संवैधानिक निकायहरूमा हुने नियुक्ति पारदर्शी र न्यायोचित हुनुपर्नेमा जोड दिँदै अध्यादेशमार्फत प्रक्रिया अघि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठाएको बताएका छन्।

आफ्नै पार्टीका प्रतिनिधिले सरकारको विवादास्पद निर्णयमा साथ दिएको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि पोखेपछि यसले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। उनले विज्ञप्तिमार्फत राष्ट्रिय सार्वभौमिकता र न्याय प्रणालीको निष्पक्षतामा आँच आउने कुनै पनि कार्य स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।