काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध 'रेड कर्नर नोटिस' जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप स्पष्टीकरण र विवरण माग गरेको छ।
फ्रान्सको लियोनस्थित इन्टरपोल मुख्यालयले नेपाल प्रहरीको 'नेशनल कन्ट्रोल ब्युरो' (एनसीबी) लाई पत्र पठाउँदै थप प्रमाण र विवरणहरू उपलब्ध गराउन आग्रह गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धानका लागि अदालतबाट पक्राउ अनुमति लिएपछि इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय खोजीका लागि प्रक्रिया अगाडि बढाएको थियो।
पछिल्लो 'जेनजी' आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवाको निवासमा आगजनी हुँदा घरभित्र जलेको अवस्थामा ठुलो परिमाणमा नगद फेला परेपछि विभागले उनीहरूमाथि अनुसन्धान सुरु गरेको हो। सोही घटनाका क्रममा भएको कुटपिटबाट देउवा दम्पती घाइते समेत भएका थिए।
आन्दोलन र आगजनीपछि उपचारका लागि हङकङ प्रस्थान गरेका देउवा दम्पती लामो समयसम्म स्वदेश नफर्किएपछि कानुनी प्रक्रियाका लागि विभागले इन्टरपोलको सहारा लिएको हो।
इन्टरपोलले मागेको थप विवरण विभाग र प्रहरीले समन्वय गरी पठाउने तयारी गरिरहेका छन्। हाल देउवा दम्पती विदेशमै रहेका कारण विभागले उनीहरूलाई स्वदेश फिर्ता ल्याई सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान अघि बढाउने लक्ष्य राखेको छ।