लिपुलेक क्षेत्रमा छिमेकीको व्यापारिक सम्झौताको रास्वपाद्वारा विरोध, कुटनीतिक पहल सुरु

लिपुलेक क्षेत्रमा छिमेकीको व्यापारिक सम्झौताको रास्वपाद्वारा विरोध, कुटनीतिक पहल सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको यस विषयमा नेपाललाई जानकारी नै नगराई गरिएको द्विपक्षीय सम्झौताप्रति उनले कडा आपत्ति जनाएका हुन्।

उपनेता पराजुलीले सीमा विवादको विषयलाई वर्तमान सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै यस सम्बन्धमा छिमेकी राष्ट्रहरूलाई कुटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिर्। "हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन। सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ," उनले भने।

सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजना फैलाएर भन्दा पनि ठोस कुटनीतिक र राजनीतिक संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्। पराजुलीका अनुसार सरकारले यस प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक गृहकार्य र तयारी गरिरहेको छ।

उनले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी र अडान स्पष्ट पारिसकेकाले यस विषयमा अनावश्यक टिप्पणी गर्नुभन्दा परिणाममुखी संवादमा विश्वास गर्नुपर्ने उल्लेख गरे। सरकार संवादकै माध्यमबाट समस्याको निकास निकाल्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको दाबी छ।