काठमाडाैं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन शीर्ष नेताहरूबीचको संवाद तीव्र बनेको छ। यसै क्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
गोल्फुटारमा भएको उक्त भेटका क्रममा तीन नेताबीच पार्टीको आन्तरिक समीकरण, गुटबन्दी अन्त्य र आगामी कार्यदिशाबारे सघन छलफल भएको थियो। सभापति थापाले यसअघि वैशाख ६ गते पनि नेता खड्काको निवासमै पुगेर परामर्श गरेका थिए।
भेटमा नेता खड्काले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू हरतरहले तयार रहेको र नेतृत्वलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेता खड्काले सभापति थापासँगको अघिल्लो भेटबारे वैशाख १५ गते स्मार्ट होटलमा आयोजित आफ्नो समूहको भेलामा ब्रिफिङ समेत गर्नुभएको थियो। सो क्रममा उहाँले पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा सभापतिले आफूसँग राय मागेको र आफूले रचनात्मक सुझाव दिएको जानकारी गराएका थिए।
पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापनका लागि सभापति थापाले हिजो मात्रै नेता डा. शेखर कोइरालासँग पनि परामर्श गर्नुभएको थियो। शीर्ष तहमा भइरहेको यो निरन्तरको संवादलाई कांग्रेस कार्यकर्ताहरूले पार्टी सुदृढीकरणको सकारात्मक प्रयासका रूपमा हेरेका छन्।