काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम (स्मार्ट सेल) का अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरिएको हो।
सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार जोशीमाथि सरकारी सम्पत्तिमाथि बेइमानी गरेको र कानुन विपरितका कार्यहरू गरेको गम्भीर अभियोग लागेको छ।
जोशीले नेतृत्व गरेको स्मार्ट सेलले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो।
तर, लामो समयसम्म अनुमतिपत्र नवीकरण नगरेपछि र सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिरेपछि २०८० वैशाख ३ गतेदेखि उक्त कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो।
कानुनतः अनुमतिपत्र रद्द भएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जालको स्वामित्व नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने व्यवस्था छ।
अनुमतिपत्र रद्द भई सरकारी नियन्त्रणमा गइसकेको सम्पत्तिलाई अध्यक्ष जोशीले बेइमानीपूर्वक चलाएको र सरकारको हक टुटाउने उद्देश्यले काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सरकारी स्वामित्वमा आइसकेका पूर्वाधार र प्रणालीमाथि ठगी तथा आपराधिक विश्वासघात गरी व्यक्तिगत लाभ लिन खोजेको देखिएपछि उनलाई पक्राउ गरी थप कानुनी कारबाही अघि बढाइएको हो।
प्राधिकरणले आफ्नो नियन्त्रणमा लिइसकेको सम्पत्तिको संरक्षण र व्यवस्थापनमा अवरोध पुर्याएको विषयमा समेत उनीमाथि अनुसन्धान केन्द्रित गरिएको सिआइबीले जनाएको छ।