काठमाडाैं। भारतको विदेश मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन हुने प्रसिद्ध कैलाश मानसरोवर यात्रा २०२६ को औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी जुन महिनादेखि सुरु भएर अगस्टसम्म चल्ने यस वर्षको धार्मिक यात्राका लागि मन्त्रालयले देशभरका इच्छुक तीर्थयात्रीहरूका लागि अनलाइन आवेदन प्रक्रिया समेत खुला गरिसकेको छ । हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने यो यात्रा विगतका केही वर्षको अन्योल र अवरोधपछि यसपटक व्यवस्थित रूपमा सञ्चालन गर्न लागिएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको योजना अनुसार यस वर्षको यात्रामा सहभागी हुन चाहने यात्रीहरूलाई कूल २० वटा समूहमा विभाजन गरेर गन्तव्यतर्फ पठाइनेछ । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने लिपुलेक पास हुँदै १० वटा समूहलाई यात्रा गराइनेछ भने बाँकी १० वटा समूहले सिक्किमस्थित नाथु ला पासको मार्ग प्रयोग गर्नेछन् ।
प्रत्येक समूहमा ५० जना यात्रीहरू रहने गरी मन्त्रालयले कोटा निर्धारण गरेको छ, जसको अर्थ यस वर्ष करिब एक हजार जनाले आधिकारिक रूपमा यो यात्रा गर्ने अवसर पाउनेछन् ।
कैलाश मानसरोवर यात्राका लागि लिपुलेक मार्गलाई भौगोलिक रूपमा चुनौतीपूर्ण भए पनि ऐतिहासिक र सांस्कृतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । भारतीय विदेश मन्त्रालयले लिपुलेक र नाथु ला दुवै मार्गबाट हुने यात्राको सुरक्षा र स्वास्थ्य मापदण्डलाई निकै कडाइका साथ पालना गराउने जनाएको छ ।
विशेषगरी उच्च हिमाली क्षेत्रको यात्रा भएकाले यात्रीहरूको शारीरिक तन्दुरुस्तीलाई मुख्य प्राथमिकता दिइने र छनोट प्रक्रियामा स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ । आवेदन दिने यात्रीहरूले तोकिएको अनलाइन पोर्टल मार्फत आफ्नो विवरण बुझाउनुपर्ने र छनोटमा परेकाहरूलाई मन्त्रालयले थप प्रक्रियाका लागि सूचित गर्ने बताइएको छ ।