नेपाल-अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा अमेरिकी विशेषदूत र मन्त्रीद्वयबीच संवाद

नेपाल-अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा अमेरिकी विशेषदूत र मन्त्रीद्वयबीच संवाद

काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले बिहीबार नेपाल सरकारका परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।

काठमाडौं ओर्लिएलगतै भएका यी उच्चस्तरीय भेटघाटहरूमा नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने र आर्थिक विकासका क्षेत्रमा सहकार्य बढाउने विषयमा गहन छलफल भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल र विशेषदूत गोरबीच नेपाल-अमेरिका सम्बन्धका विविध आयामहरूलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई समयसापेक्ष सुदृढ बनाउँदै द्विपक्षीय लगानीलाई प्रोत्साहन गर्ने र व्यापार प्रवर्द्धनका नयाँ अवसरहरू पहिल्याउने विषयमा विशेष जोड दिइएको थियो।

मन्त्री खनालले अमेरिकाले नेपालको विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि आपसी हितका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे।

त्यसैगरी, विशेषदूत गोरले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। अर्थमन्त्रीको कार्यकक्षमा भएको उक्त भेटघाटमा मुख्य गरी नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध पक्षहरूमा छलफल केन्द्रित रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

भेटका क्रममा मन्त्री वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था र सरकारले अघि सारेका विकासका प्राथमिकताका बारेमा अमेरिकी विशेषदूतलाई अवगत गराएका थिए।

जवाफमा विशेषदूत गोरले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरिका सधैँ साथमा रहने प्रतिबद्धता जनाएका थिए। उनीहरूबीच नेपालमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारिता र भविष्यमा हुनसक्ने थप लगानीका क्षेत्रका बारेमा समेत सकारात्मक कुराकानी भएको छ।

यी भेटघाटहरूले नेपाल र अमेरिकाबीचको दशकौँ पुरानो सम्बन्धलाई आर्थिक र रणनीतिक दुवै हिसाबले थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।