काठमाडौं। अखिल नेपाल सुकुम्वासी संघले सरकारको कदमविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।
नेकपा निकट उक्त संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई पदबाट हटाउन मागदेखि अनिश्चितकालीन आमहड्तालसम्मका कार्यक्रम सार्वजनिक गरेको हो।
संघका अध्यक्ष अमर परियारद्वारा जारी विज्ञप्तिमा दुई चरणमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। मेची–महाकाली राजमार्ग चक्काजामलगायतका कार्यक्रमसमेत समावेश गरिएको छ।
विज्ञप्तिअनुसार २०६३ जेठ ७ गतेदेखि देशव्यापी रूपमा मेची–महाकाली राजमार्गसहित सुकुम्बासी केन्द्रित क्षेत्रमा आन्दोलन गर्दै अनिश्चितकालीन आमहड्ताल गरिने जनाइएको छ।
सरकारले सुकुम्बासी बस्ती तथा अतिक्रमित सरकारी जमिन खाली गराउने निर्णयको विरोधमा आन्दोलन घोषणा गरिएको संघले जनाएको छ।
