काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष र गुटगत राजनीतिमा फेरि एकपटक नयाँ बहस सुरु भएको छ। विशेष गरी पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रम र पार्टीभित्रका निर्णय प्रक्रियालाई लिएर सभापति गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीचको सम्बन्धलाई 'बदला' को रूपमा विश्लेषण गर्न थालिएको छ।
कुनै समय एउटै समूहमा रहेर १३ औं महाधिवेशनमा सहकार्य गरेका यी दुई नेताबीचको सम्बन्ध १४ औं महाधिवेशनपछि भने निकै चिसिएको थियो।
सिटौलाले संस्थापन पक्षसँग समीकरण गर्दा त्यसको प्रत्यक्ष असर गगन थापा र उनको समूहलाई परेपछि उत्पन्न भएको राजनीतिक दूरी अहिले झन् प्रस्ट भएर सतहमा आएको छ।
पार्टीभित्रको वरीयता, टिकट वितरण र पछिल्लो संसदीय समितिको चयनमा सभापति थापाले लिएको अडानलाई धेरैले सिटौलासँगको 'हिसाब चुक्ता' गर्ने रणनीतिका रूपमा हेरेका छन्।
विगतमा सिटौलाको रणनीतिले गर्दा पार्टीको मुख्य नेतृत्व चयनमा आफ्नो समूह पछि परेको महसुस गरेका थापाले अहिले पार्टीको सङ्गठनात्मक संरचनामा आफ्नो पकड बलियो बनाउँदै लगेका छन्।
कुनै समय आफ्नो गुटको नेता मानेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा दलको नेताबाट समेत हटाएर थापाले राजनीतिक अस्त्र प्रहार गरेका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको काँधमा राखेर थापाले पुराना शक्ति केन्द्रहरूलाई किनारा लगाउने संकेतसमेत दिएका छन्।
आङ्देम्बेले सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता मनोनीत गरे। यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभामा संसदीय दलको नेता मनोनीत गरेका थिए। आङ्देम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित), २०८३ को धारा १२ (२) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन्।
विशेष महाधिवेशनको तीव्र विरोधमा उत्रिएका सिटौलासँग थापाको सम्बन्ध पछिल्लो समय हार्दिक थिएन। कांग्रेसभित्र थापा–सिटौला सम्बन्धको उतारचढाव लामो समयदेखि चर्चामा रहँदै आएको छ। एक समय सिटौलाकै संरक्षणमा राजनीतिमा स्थापित भएका थापा पछिल्लो समय अलग शक्ति केन्द्रतर्फ उन्मुख भएपछि सम्बन्ध चिसिएको थियो।
०६२/६३ सालको जनआन्दोलनबाट उदाएका नेता थापालाई पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिक सूचीमा नाम राख्न दबाब दिने पनि सिटौला नै थिए। पार्टीको १३औं महाधिवेशनमा सिटौला प्यानलबाटै गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए। यद्यपि त्यो निर्वाचनमा उनले जित निकाल्न भने सकेनन्।
सिटौलाकै सिफारिसमा गगन पहिलोपटक मन्त्रीको कुर्सीमा पुगेका थिए। २०७३ सालमा पुष्पकमल दाहाल सरकारमा थापा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय भने गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको चर्को विरोध गर्नेहरूमध्ये सिटौला पनि थिए।
थापा र सिटौलाको सम्बन्ध २०७८ सालमा भएको कांग्रेसको १४औं महाधिवेशनदेखि चिसिन सुरु भएको हो। त्यतिबेला थापाले गुट परिवर्तन गरेका थिए। उनी डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। सिटौला भने देउवा गुटमा थिए। गुट परिवर्तन गरेपछि सिटौलाले त्यो समय थापालाई इंगित गर्दै भनेका थिए, ‘जसले नेता बनायो, उसले बिगार्न पनि सक्छ।’
पछिल्लो समय भने देउवा समूहबाट समानान्तर भेलाहरू बोलाउनमा अरूभन्दा बढी सिटौला नै सक्रिय थिए। सिटौलासहित पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिको मुख्य भूमिकाकै कारण पार्टीभित्रको विवाद नमिलेको थापाले गुनासो गरेका छन्। सिटौलाले अहिले पनि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समिति समायोजन गरेर त्यसैबाट महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने भन्दै भेला गर्दै आएका थिए।
सिटौलाको बहिर्गमनसँगै विशेष महाधिवेशनमा खुलेकी पन्तलाई दलको नेताको जिम्मेवारी आएको हो। आङ्देम्बेले राष्ट्रियसभाको सचेतकमा पनि देउवा पक्षीयलाई हटाएर गगननिकट पदमबहादुर परियारलाई मनोनीत गरेका छन्।
आङ्देम्बेले विधानको धारा ७ (१) बमोजिम प्रतिनिधिसभाका लागि उपनेतामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद अभिषेकप्रताप शाहलाई चयन गरेका छन्। प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निष्कल राईलाई मनोनयन गरिएको छ। थापा दैलेख क्षेत्र नम्बर १ र राई इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। थापा कांग्रेसबाट निर्वाचित एक मात्र महिला सांसद हुन्। थापा र राई दलको नेताका लागि आकांक्षी थिए।