हर्क साम्पाङको प्रश्न : लिपुलेक र महाकाली जोगाउन कति सेना पठाइयो ?

हर्क साम्पाङको प्रश्न : लिपुलेक र महाकाली जोगाउन कति सेना पठाइयो ?

काठमाडौं। सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ उत्रिएका छन्।

उनले सरकारको कदमको कडा विरोध गर्दै गरीब र निमुखा नागरिकमाथि राज्य शक्ति प्रयोग गरिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारलाई ‘निरंकुश सरकार’को संज्ञा दिएका छन्। उनले १९०० प्रहरी परिचालन गरेर सुकुम्बासी बस्ती हटाउने सरकारसँग लिपुलेक र महाकाली सीमामा कति सेना पठाइयो भनेर प्रश्न गरेका छन्।

भारतले महाकाली सीमाना नदी च्यापेर आफूखुसी बाँध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सके मात्र सरकारलाई धन्यवाद दिने उनले बताए।

“गरीबको झुपडी भत्काएर बहादुर ठान्नु र सानो बालकसँग लडेर जितें भन्नु एउटै कुरा हो,” साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले सरकार जनताको समस्याप्रति गम्भीर नभएको आरोपसमेत लगाएका छन्। दलित समुदायमाथि अझै पनि विभेद भइरहेको, जनता सडकमा रात बिताउन बाध्य भएको तथा देशभरिका सुकुम्बासी बस्तीहरू डोजर आतंकको जोखिममा परेको उनको दाबी छ।

साम्पाङले आगामी पाँच वर्ष गरीब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी र सुकुम्बासीले डोजर, पुलिस, लाठी, बुट, बन्दुक र जेलखाना मात्रै देख्ने टिप्पणी गरेका छन्।