रवि लामिछानेको मुद्दाको सुनुवाइ आज पनि स्थगित

रवि लामिछानेको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन्।

सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै यो विवादमा गम्भीर संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको भनी पूर्ण इजलासमा पठाएको थियो ।

संयुक्त इजलासले ‘थप प्रमाण’को गलत व्याख्याको आशङ्का गर्दै यो विवादलाई पूर्ण इजलासबाट सुनुवाइ गर्नुपर्ने औँल्याएको छ ।