काठमाडौं। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस. पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलोपटक उच्च तहको भ्रमणमा आएका हुन्।
स्रोतका अनुसार, कपुरको तीनदिने भ्रमण नेपाल-अमेरिका सम्बन्धलाई सुदृढ पार्ने र वर्तमान सरकारको प्राथमिकताहरू बुझ्ने उद्देश्यमा केन्द्रित रहनेछ। उनको भ्रमणमा विशेष अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने विषयमा छलफल हुने सम्भावना छ।
कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग उनको भेट हुने/नहुने बारे अझै औपचारिक पुष्टि भइसकेको छैन।
पछिल्लो समय दक्षिण एसियामा बदलिँदो भू-राजनीतिक परिस्थिति र सुरक्षा चासोका विषयमा पनि दुई पक्षबीच विचार विमर्श हुनेछ।
एस. पल कपुरको यो भ्रमणलाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ। उनी एक अनुभवी कूटनीतिज्ञका साथै दक्षिण एसियाली सुरक्षा मामिलाका विज्ञ मानिन्छन्। यसअघि उनी अमेरिकी नौसेना स्नातकोत्तर विद्यालयमा प्राध्यापनरत थिए भने अमेरिकी विदेश मन्त्रालयको नीति योजना विभागमा समेत काम गरिसकेका छन्।
विशेष गरी पछिल्लो समय नेपालको परराष्ट्र नीति र यस क्षेत्रमा बढ्दो विदेशी चासोका बीच अमेरिकाले नेपाललाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको यो भ्रमणले संकेत गरेको कूटनीतिज्ञहरूको विश्लेषण छ।